सामग्रीमा जानुहोस्

भेडेटार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भेडेटार
पूर्व गाविस
भेडेटारको दृश्य
भेडेटारको दृश्य
भेडेटार is located in कोशी प्रदेश
भेडेटार
नेपालको नक्सामा भेडेटारको अवस्थिति
भेडेटार is located in नेपाल
भेडेटार
भेडेटार (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८७°२०′E / २७.१२°N ८७.३३°E / 27.12; 87.33निर्देशाङ्कहरू: २७°०७′N ८७°२०′E / २७.१२°N ८७.३३°E / 27.12; 87.33
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा जिल्ला
जनसङ्ख्या
 • जम्मा२,९७७
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

भेडेटार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, धनकुटा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २९७७ रहेको थियो जसमध्ये १४१४ पुरुष र १५६३ महिला रहेका थिए भने यहाँ ६८२ घरधुरी रहेको थियो।[१][२] यो एक पर्यटकीय बजार समेत हो। यो बजार धरानको ४ नं वडा र साँगुरीगढी गाउँपालिकामा अवस्थित छ। भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान उपमहानगरपालिकाको जिरो पोईन्टबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरीधनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुन्द्री सतहबाट १,४२० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन । अझ भेडेटारको भ्यू टावर अर्थात चार्ल्सप्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्नसकिन्छ ।

पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो । यहाँबाट धनकुटा सदरमुकाम ३६ कि.मी. दूरीमा रहेको छ। भेडेटारबाट पाँचथर जिल्लाको राँकेसम्मको निर्माणधिन सडक पूर्वतर्फ गएको छ भने धरानको विष्णुपादुका, आहाले हुँदै वराहक्षेत्र जाने निर्माणधिन सडक पश्चिम तर्फ गएको छ । उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ। यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि तर्राई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गर्दछन् ।

भेडेटारमा रहेको ईमान सिंह चेमजोङको सालिक

भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ। २०३८ सालमा वेलायतका युवराज चार्ल्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चार्ल्स प्वाइन्ट नामकरण गरिएको हो । चार्ल्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पो सम्म पुग्ने सिंढी निर्माण पुरा भएको छ र दृश्य अवलोकन टावर निर्माण भइरहेको छ ।

भेडेटारबाट १० किलोमिटर नजीकै उत्तरपट्टी कोशी राजमार्गको "नमस्ते मोड" छेउमा रमणीय प्राकृतिक नमस्ते झर्ना बगेको छ । भेडेटारबाट केही पश्चिममा धरान २० नं वडामा किराँतकालिन ऐतिहासिक सानगढी (साँगुरीगढी) र साँगुरी भञ्ज्याङ रहेको छ। गढीलाई जिर्णोद्धार गरिएको छ र त्यस गढीमा किराँतकालिन पुरातात्विक निशान, तोप तथा अन्य सामग्री धनकुटा सदरमुकाममा रहेको हुँदा हाल सोही गढीमा ल्याई सूरक्षा दिई पर्यटकीय स्थलको रूपमा विकास गर्न पहल भएको छ। साँगुरी भञ्ज्याङ्ग परापूर्वकालदेखिको तराई र पहाडको पैदल यातायातको मूख्य व्यापारिक तथा सामरिक मार्ग रहेको थियो हाल मोटरबाटो भेडेटारबाट गएपछी यो भञ्ज्याङ्ग उजाड भएको छ। तथापि हाल स्थानीय तह र प्रदेशको संयुक्त प्रयासमा पुनर्निर्माण गरी नया ट्रेकिङ्ग रुट बनाउन प्रयाश भै रहेको छ।

भेडेटारमा पिकनिक तथा गर्मी छल्ने तराई तथा भारतीय पर्यटकहरूको अत्यधिक आवतजावतले रौनक भरेको छ। यहाँ पहाडी मौसम लगायत अर्ग्यानिक फलफूल तथा तरकारी एवं स्थानीय परिकारहरु पस्किने भएको हुँदा सबैको आकर्षणको केन्द्र बनेको छ। यातायातको यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्त्वको स्थानको रूपमा अझ विकसित हुदै जाने सम्भावना रहेको छ । [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. "धनकुटा जिल्लाको महत्त्वपूर्ण ऐतिहासिक, पर्यटकिय तथा धार्मिक स्थानहरू", जिविस धनकुटा