सामग्रीमा जानुहोस्

समाचार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समाचार भनेको कुनैपनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रसारण वा इन्टरनेटको माध्यमले कुनै तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको सञ्चार गर्नु हो । अङ्ग्रेजी शब्द News ल्याटिन भाषाको Nova र संस्कृत भाषाको सम+आचरण शब्दको अर्थमा समाचार शब्दको प्रयोग भएको पाइन्छ । समाचारमा निष्पक्षतामा जोड दिइन्छ अर्थात सबै प्रति समान आचरण देखाउँदै, आफू निष्पक्ष रहेर समाचार प्रकाशन तथा प्रसारण गरिन्छ । समाचार कुनै घटना, तथ्य वा विचारको तात्कालिक विवरण हो जसमा जनसमुदायको रूची हुन्छ । समसामयिक घटना वा विचारको तत्काल सूचना वा जानकारी नै समाचार हो । कुनै लेख समाचार हुन नयाँपन, समसामयिकता, निकटता, प्रमुखता, मानवीय अभिरूची, मनोरञ्जन जस्ता तत्वहरू हुनु अनिवार्य मानिन्छ । समाचारको महत्त्व, प्रकृति र सान्दर्भिकताले समाचारको बनोटलाई निर्धारण गर्छ । आमुख, तथ्य, उद्दरण, पृष्ठभूमीलाई समाचारका महत्त्वपूर्ण अङ्ग मानिन्छ । समाचार उल्टो पिरामिड, वर्णनात्मक र अवर ग्लास ढाँचामा लेखिन्छ । समाचार प्राप्तहुने ठाउँलाई पत्रकारिताको भाषामा समाचारको स्रोत भनिन्छ । यस्तो स्रोत पत्रकारको प्रमुख सम्पत्ति मानिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

सत्रौँ सताब्दीको सुरूमा समाचारपत्रको आविष्कार हुनुभन्दा पहिला, ठूला साम्राज्यहरूमा सरकारका कामकाजका कागजपत्र तथा सरकारी निर्णयहरूको सञ्चार हुनेगर्दथ्यो ।[१] वाहकहरूको व्यवस्थित प्रयोग गरी लिखित दस्तावेजहरूको सञ्चारमा प्राचिन मिश्रका शासकहरू अग्रस्थानमा आउँछन् । २४०० बिसीदेखि नै मिश्रका फारोहहरू आफ्ना लिखित निर्णय तथा आदेशहरू साम्राज्यभरि फैलाउन विभिन्न सन्देशवाहकहरूको प्रयोग गर्दथे ।[२] त्यसभन्दा पहिलादेखि प्रचलनमा रहेको मौखिक सञ्चारको प्रचलनलाई नै सुधार गरी लिखित सञ्चार प्रणालीको विकास गरिएको थियो । प्राचिन रोममा जुलियस सिजरले सरकारी निर्णयहरू सार्वजनिक गर्ने प्रचलन ल्याएका थिए । त्यो समयमा सरकारी निर्णयहरू ढुङ्गा वा धातुका पातामा कुँदेर सार्वजनिक स्थानमा राखिन्थ्यो जसलाई एक्ता दिउर्ना (Acta Diurna) भनिन्थ्यो । चीनमा दोस्रो र तेस्रो सताब्दीमा हान वंशको अन्तिम समयमा सरकारले तयार गर्ने तिपाओ (Tipao) भनिने समाचारपत्रहरू अदालतका कर्मचारीहरूलाई बाँडिन्थ्यो ।[३]

समाचारका परिभाषाहरू[सम्पादन गर्नुहोस्]

  • भर्खरैको सूचना वा अखबारमा छापिएका हालखबर तथा नयाँ घटनाको विवरण, सम्चार वा सन्देश -नेपाली बृहत् शब्दकोश[४]
  • समाचार एउटा अचम्मको घटना हो, जुन प्राय अप्रत्याशित हुन्छ ।
  • हिजोसम्म नजानेको कुरा नै समाचार हो ।
  • समाचार त्यही हो जुन घटित हुन्छ, जुन मान्छेले सोच्छ र गर्छ । -जेम्स विगिन्स
  • जनता नै समाचार हुन् । -ह्यारोल्ड म्याथ्यु इभान्स
  • समाचार त्यो हो जुन नयाँ हुन्छ । - एम. भी. कामथ
  • आम सञ्चार माध्यामद्वारा प्रकाशन तथा प्रसारण हुने सार्वजनिक महत्त्वका सामयिक घटना, क्रियाकलाप तथा विचारको त्यस विवरणलाई समाचार भनिन्छ जसबाट कुनै प्रकारको शिक्षा, सूचना, मनोरञ्जन वा प्रेरणा प्राप्त हुन्छ । समाचार हतारमा लेखिएको साहित्य हो । -म्याथ्यु आर्नोल्ड
  • समाचारलाई भोलिको इतिहासको टिपोट भनिन्छ ।

समाचारका प्रकारहरू[सम्पादन गर्नुहोस्]

समाचारलाई विषय, स्थान आदिको आधारमा वर्गीकरण गरिएको हुन्छ । स्थानको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार; त्यस्तै केन्द्र तथा जिल्ला समाचारमा वर्गीकरण गरिएको पाइन्छ । समाचार सामग्रीका विषयका आधारमा पनि समाचारलाई विभिन्न प्रकारमा बाँडिएको हुन्छ । जो यसप्रकार छन:
राजनीतिक समाचार
विभन्न राजनीतिक दलका कार्यक्रमहरू, नेताहरूका भनाई, गतिविधि आदि समेटेर तयार परिने समाचार सामग्रीहरू राजनीतिक समाचार हुन ।
आर्थिक समाचार
व्यापार शेयर बजार, बजेट, पेशा, व्यावसाय लगायतका आर्थिक गतिविधिहरूलाई समावेस गरिन्छ । बजारमा ल्याइएका नयाँ सामग्रीहरू, व्यापारिक योजना तथा जानकारीहरू पनि आर्थिक समाचारमा प्रकाशन तथा प्रसारण गरिन्छ ।
खेलकुद समाचार
खेल जगतका ताजा जानकारीहरू, खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्तिको विचार तथा क्रियाकलाप, खेलकुद महोत्सव, प्रतियोगिताहरूको ताजा जानकारीहरू समाबेस गरेर खेलकुद समाचारहरू तयार पारिन्छ ।
मौसम समाचार
महत्त्वपूर्ण सहरका सूर्योदय तथा सूर्यास्तको समय, अधिकतम तथा न्युनतम तापक्रम तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमान समेटेर तयार पारिन्छ ।
स्वास्थ्य समाचार
स्वास्थ्य क्षेत्रका विभिन्न गतिविधी, रोग तथा उपचारको बारेमा जानकारी, स्वास्थ्यकर्मी तथा विषेशज्ञको सल्लाह आदी समेटेर स्वास्थ्य समाचार तयार गरिन्छ ।
मनोरञ्जन समाचार
कला तथा मनोरञ्जन क्षेत्रका गतिविधी समावेस गरेर तयार पारिएका समाचार सामग्रीहरू समावेस गरेर तयार पारिने समाचारलाई मनोरञ्जन समाचारको रूपमा प्रस्तुत गरिन्छ ।
विज्ञान तथा प्रविधि समाचार
विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका विभिन्न आविश्कार, अनुसन्धान आदिका सामग्रीहरू विज्ञान तथा प्रविधि समाचारका रूपमा प्रश्तुत गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. [१]
  2. "United Courier Systems", Ucsams.nl, अन्तिम पहुँच २०१२-०३-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-२२ मिति
  3. Brook, Timothy. (1998). The Confusions of Pleasure: Commerce and Culture in Ming China. Berkeley: University of California Press. ISBN 0-520-22154-0 (Paperback). Page xxi.
  4. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान